माधव राज खरेलको निर्देशनमा तयार भएको चलचित्र ‘चिठ्ठी’को ‘टुटेको तारा’ बोलको गीत गायक शिव परियारले गाएका छन् । सोमबार राजधानीको फाइन टियुन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । गीतमा डा. कृष्णहरी बरालको शब्द रचना, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको एरेन्जर छ । गीत रेकर्डिङमा गीतकार बराल पनि उपस्थित थिए ।

एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको चलचित्रमा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई लगायतको अभिनय छ ।

चलचित्रको सम्पादन राजेश कुमारले गरेका छन् भने जीवन पराजुलीको छायांकन छ । काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लामा छायांकन भएको चलचित्रको पोष्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको निर्मात्री जोशीले बताइन् । कमेडी जनारामा बनेको चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहेको निर्देशक खरेलको भनाई छ । चलचित्रलाई २०२२ भित्रै प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।




