कलाकार खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार कलाकार लामिछानेको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा बेपत्ता भएको छोराको खोजीमा रहेको एक दाम्पतीको मर्मस्पर्शी कथालाई देखाइएको छ ।

ट्रेलरमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानको अभिनय मनछुने छ । छोरा खोज्न उनीहरुले खेपेको दुःख, पीडा र हैरानीले भावुक बनाउँछ । संवाद थोरै भएपनि अभिनेत्री मलिका महतको ट्रेलरमा उपस्थिति बलियो छ । त्यस्तै, खगेन्द्र लामिछानेको प्रवेशपछि चलचित्रको कथा मोडिने ट्रेलरमार्फत् संकेत गरिएको छ । ट्रेलरले चलचित्रप्रति कौतुहलता जगाउने निश्चित छ ।
चलचित्रमा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय छ । आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।
चलचित्रमा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा ‘पानीफोटो’ नामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन् ।