आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । सामाजिक सञ्जालमार्फत् प्रायःले आ-आफ्नो गुरुलाई सम्झिएका छन् । अभिनेत्री पूजा शर्माले पनि निर्देशक सुदर्शन थापालाई ‘गुरु’ मान्दै गुरु पूर्णिमाको शुभकामना दिएकी छन् । उनले आफूलाई शिक्षक जसरी सिकाएकोमा सुदर्शनलाई धन्यवाद व्यक्त गरेकी छन् ।
उनले बुधवार फेसबुकमा सुदर्शनसँगको एक तस्विर पोस्ट गर्दै लेखेकी छन्, ‘तिमीले मलाई एक शिक्षकको रूपमा सिकायौ, मलाई मेरो आमा-बाबुले जस्तै रक्षा गर्यौ र मलाई एक गुरुले जस्तै मार्गदर्शन गर्यौ । तिमी साँचिक्कै यो दिनका लागि योग्य छौ ।’ आफूलाई ठूला सपना देख्ने सबै कारणहरू र त्यसलाई पूरा गर्नका लागि सबै स्रोतहरू दिएको उनले उल्लेख गरेकी छन् ।
पूजा अगाडि लेख्छिन्, ‘तिमी मेरो जीवनको आशिष हौ । म तिम्रो विद्यार्थी हुन पाएकोमा आभारी छु । मलाई मेरो उत्कृष्ट बन्न चुनौती दिएकोमा र मलाई सिक्ने जोश जगाएकोमा धन्यवाद । ह्याप्पी गुरुपूर्णिमा काजी ।’ असफलता भोगिरहेकी पूजालाई ‘प्रेमगीत’ जस्तो चलचित्र दिएर सुदर्शनले उनलाई ठूलो गुन लगाएका थिए । यही चलचित्रले उनलाई अभिनेत्रीको रुपमा स्थापित गर्यो ।
चलचित्र ‘मधुमास’मा सुदर्शन र पूजाबीच पहिलो सहकार्य भएको थियो । त्यसपछि सुदर्शनले पूजाको साथ कहिल्यै छाडेनन् । ‘म यस्तो गीत गाउँछु’, सुदर्शनले पूजालाई दिएको अर्को ठूलो उपहार हो । सुदर्शनको निर्देशनमा पूजाले ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’ चलचित्रमा पनि काम गरिसकेकी छन् । अब उनीहरुबीच एक नयाँ चलचित्रमा सहकार्य हुँदैछ ।