अभिनेता रेमनदास श्रेष्ठले वैवाहिक जीवनमा बाँधिएका छन् । बिहीवार उनले जर्मनी प्रेमिका जना मुद्रासँग विवाह गरेका हुन् । काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । यो रेस्टुरेन्ट रेमन स्वयंको हो । उनले अभिनेत्री नम्रता श्रेष्ठसँग मिलेर रेस्टुरेन्ट खोलेका हुन् ।

रेमन र जनाको विवाहमा दुई पक्षका परिवार र आफन्तसँगै रेमन नजिकका केही चलचित्रकर्मीहरु सहभागी छन् । रेमन र जना विगत ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । उनीहरुले हिन्दू परम्पराअनुसार नै विवाह गरेका छन् । रेमनदासले यही शनिवार चितवनमा रिसेप्सन पार्टी दिँदैछन् ।
कलाकार मदनदास श्रेष्ठका छोरा रहेका रेमनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’ लगायत एक दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनी चर्चित टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’मा होस्टको रुपमा आबद्ध छन् ।