किन छायांकन नगरी फर्कियो ‘प्रसाद २’ टिम ?



बुधवारबाट सुरु हुनुपर्ने चलचित्र ‘प्रसाद २’को छायांकन अनिश्चितकालका लागि स्थगन भएको छ । चलचित्रको मुहूर्त गरेर निर्देशक सुदर्शन थापा कलाकारको ‘टेक’ लिन तयार रहेको अवस्थामा अभिनेता विपिन कार्कीले स्टोरी बोर्ड बिना काम गर्न नसक्ने बताएपछि छायांकन विथोलिएको हो । अभिनेत्री नम्रता श्रेष्ठले पनि छायांकन गर्ने मूड नदेखाएपछि सहमतिमै छायांकन स्थगन गरिएको निर्माता सुभाष थापाले जानकारी दिए ।

बिहीवार चलचित्रको टिम छायांकन रोकेर काठमाडौं फर्किएको छ । कलाकारको मूडका लागि केही दिन छायांकन पोस्टपोन्ड गरेको निर्माता सुभाष थापाले जानकारी दिए । उनले भने- ‘स्टोरी बोर्ड लगायत तयार गर्न केही दिन लाग्ने भएपछि छायांकन रोकेका हौं । सबै कुरामा सहमति भएपछि छायांकन थाल्नेछौं ।’ विपिन कार्कीले अहिलेसम्म आफूले स्टोरी बोर्ड बिना चलचित्रमा कामै नगरेकोले स्टोरी बोर्ड चाहिने माग गरेको निर्माता थापाको भनाई छ ।

स्टोरी बोर्ड तयार गर्न समय लाग्ने भएकाले त्यसबेलासम्म ६० जनाको टिम गाउँमा राख्न नसकिने भएपछि छायांकन स्थगन गरेर काठमाडौं फर्किएको उनले बताए । कास्कीको ल्वाङ गाउँमा छायांकनका लागि निर्माण टिमले सेट समेत निर्माण गरिरहेको थियो । अब केही दिनमा सम्पूर्ण टिमबीच छलफलको वातावरण मिलाउने निर्माता थापाको तयारी छ । कलाकार तयार भएपछि जुनसुकै बेला छायांकन सुरु हुनसक्ने उनी बताउँछन् ।

‘प्रसाद २’ यसअघि पनि विभिन्न समस्यासँग जुधेको थियो । पहिला निर्देशकमा सौरभ चौधरी फाइनल थिए । पछि उनी बाहिरिएपछि सुदर्शन भित्रिए । उनी निर्देशकमा भित्रिए लगत्तै अभिनेता निश्चल बस्नेत बाहिरिए र उनको ठाउँमा अर्पण थापा भित्रिए । सबै कुरा मिलाएर निर्माताले चलचित्रको घोषणासँगै कलाकारलाई दुई हप्ता वर्कसप समेत गराए । तर, अन्तिममा सेटमै रहेका कलाकारले स्टोरी बोर्ड मागेपछि चलचित्रको छायांकन रोकिएको छ । २०७५ सालमा प्रदर्शन भएको ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ निर्माण हुन लागेको हो ।

चलचित्रको चरित्रमा डुब्न विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा लगायतले ल्वाङ गाउँमा बसेर त्यहाँको जनजीवन नजिकबाट निहालेका थिए । विपिनले वर्कसपको बेलासम्म भने स्टोरी बोर्डको खोजी नगरेको बताइन्छ । निर्देशक सुदर्शन थापा क्यामेरा ‘अन’ गरेर कलाकारको सिन लिन तयार भएपछि विपिनले स्टोरी बोर्ड मागेको स्रोत बताउँछ । उनले यसअघि निर्मातालाई पारिश्रमिक बढाउन दबाब दिएको खबर समेत बाहिर आएको थियो ।

सुशील पौडेलको लेखन रहेको चलचित्रमा राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायत पनि कलाकारको रुपमा छन् । चलचित्र निर्माणमा सुभाष थापाले केशव पाण्डेसँग सहकार्य गरेका छन् । कलाकारको तीव्र असहयोगले दुवै निर्माता निराश देखिएका छन् । अब चलचित्र निर्माण हुन्छ वा हुँदैन, त्यो त समयले बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu