प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘काँडेतार’का कलाकार, निर्माता एवं अभिनेता नवल खड्काले नेपाल भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्तावसहित चलचित्र निर्माण गरेको बताएका छन् । शक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच विद्यार्थी नेताहरुसँग छलफल गर्ने क्रममा उनले नेपालका लागि खुला सीमाना घातक रहेकाले चलचित्रको माध्यमबाट काँडेतार लगाउनु पर्ने प्रस्ताव अगाडि सारेको बताए ।
‘चलचित्रमार्फत् हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले चलचित्रमार्फत् राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भने, ‘मुलुकमा देशभक्ति भावनाका चलचित्रहरु रक्षात्मक स्थितिमा पुगेको छ र बजारिया चलचित्रको कारण परिस्थिति जटिल बनेको छ । हलिउड र बलिउडले चलचित्रको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले बुझ्न नसक्नु दुखद् कुरा हो ।’

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले चलचित्रले गरेको काँडेतार प्रस्ताव नागरिकसामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताको प्रवद्र्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको बताउँदै उनले सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर चलचित्र निर्माण हुनुपर्नेमा पनि जोड दिए ।
अनेरास्ववियू अध्यक्ष सुनिता बरालले चलचित्रले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ,’ उनले भनिन्, ‘राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’ नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काँडेतार अभियान कुनै दल विशेषको मुद्दा नभइ देशको मुद्दा रहेकाले सबैले समर्थन गर्नुपर्ने धारणा राखे ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र त्यसको प्रतिरोध गर्न काँडेतार अभियान प्रभावकारी हुने बताइन् । यो अभियानमा संगठनले सघाउने पनि उनले प्रतिवद्धता जनाइन् । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै पक्ष एक ढिक्का हुनुपर्ने र काँडेतार अभियानमा संगठनको समर्थन रहने बताए ।
सत्यकला राईको कार्यकारी निर्माण रहेको ‘काँडेतार’मा नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा,रोमियन लिम्बू लगायतको मुख्य भूमिका छ । ‘काँडेतार’लाई चाँडै प्रदर्शन गर्ने तयारीमा नवल छन् । खड्काले यसअघि ‘माया बसेछ’, ‘क्रान्ति’, ‘आवाज’, ‘दशगजा’ र ‘भीमदत्त’ चलचित्रको निर्माण गरिसकेका छन् ।