जेठ १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ले शनिवार ५१औं दिनको ऐतिहासिक सफलता हासिल गरेको छ । चलचित्रले मल्टीप्लेक्स र सिंगल थिएटर गरी राजधानीका ९ वटा सिनेमा हलमा ५१औं दिन मनाएको निर्माण टिमले जानकारी दिएको छ । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड समेत ‘कबड्डी ४’ले आफ्नो नाममा लेखाएको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ३’को २० करोडको ऐतिहासिक रेकर्डलाई ध्वस्त पार्दै चलचित्रले शुक्रवार (५० दिन) सम्म २२ करोड ८३ लाख ग्रस कमाएको जानकारी प्राप्त छ । घरेलु बजारमा यो अंक जोड्ने ‘कबड्डी ४’ पहिलो नेपाली चलचित्र बनेको छ । निर्माता मणिराम पोखरेलले अहिले पनि हलमा चलचित्र हेर्ने दर्शक राम्रो रहेको बताए ।

‘कबड्डी ४’ले नेपालसँगै अष्ट्रेलियामा पनि प्रदर्शनको ५१औं दिने ऐतिहासिक सफलता हासिल गरेको छ । प्रवासमा नेपाली चलचित्रले ५१औं दिन मनाएको यो पहिलो पटक हो । चलचित्रले अष्ट्रेलियामा ४ करोड ग्रस कमाई गरेको जानकारी अष्ट्रेलिया राइट्स खरिद गरेका रोशन भट्टराई विनोद पौडेलले दिएका छन् । चलचित्रको अझै अष्ट्रेलियाका विभिन्न शहरमा ठूलो माग रहेको रोशनले बताए ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ । ‘कबड्डी’को अन्तिम सिरिज भएकाले पनि बक्सअफिसमा आक्रामक कमाईसँगै ‘कबड्डी ४’ लामो रेसको घोडा बन्न सफल भएको हो ।