यस वर्ष अभिनेता प्रदीप खड्का अभिनीत दुई आशातित चलचित्र ‘प्रकाश’ र ‘प्रेमगीत ३’ महिना दिनको अन्तरमा प्रदर्शन हुँदैछन् । भदौ १० गतेबाट ‘प्रकाश’ र असोज ७ गतेबाट ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छन् । यतिबेला ‘प्रकाश’को प्रचारमा दौडिरहेका प्रदीपले यो चलचित्र आफ्ना अघिल्ला ७ वटा चलचित्रभन्दा कमाईमा अगाडि हुने बताएका छन् ।

त्यस्तै, उनले ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले तोड्ने पनि दाबी गरे । उनले भनेका छन्, ‘मेरो विचारमा मैले यसअघि गरेका ७ चलचित्रमध्ये ग्रसमा ‘प्रकाश’ले हाइएस्ट गर्छ । इन्डस्ट्रीको कुरा गर्ने हो भने ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले ब्रेक गर्छ ।’ यही शनिवार ५१औं दिन मनाएको ‘कबड्डी ४’ले साढे २२ करोड ग्रस कमाएको छ ।
प्रदीपले ‘प्रेमगीत ३’मा राजा र ‘प्रकाश’मा रैती बनेकाले दुइवटै क्यारेक्टर दर्शकले स्वीकार गरे आफ्नो लागि त्यही नै सफलता हुने बताए । ‘म एक महिनाको अन्तरमा राजा र रैती भएर देखिँदैछु र त्यसलाई दर्शकबाट स्वीकार हुने हो भने म खुशी हुन्छु । तर, म मात्र खुशी भएर पनि हुँदैन, दर्शक र मेकर पनि खुसी हुनुपर्छ,’ उनले भने ।