प्रदीप स्टारर ‘प्रकाश’को ट्रेलर सार्वजनिक



भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् चलचित्रको मूल कथा भनिएको छ । सरकारी स्कूलको शिक्षक बन्न गाउँको एक विपन्न युवकले गर्नुपरेको संघर्ष र बेपत्ता श्रीमानको पखाईमा रहेकी एक महिलाको कथालाई ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा अभिनेता प्रदीप खड्कालाई बढी ‘स्क्रिन स्पेश’ दिइएको छ । उनको जुम्लेली लुक्स र लवज पृथक छ । यसपटक उनी कलाकारको रुपमा चरित्रमा बाँचेको ट्रेलर हेर्दा महशुस गर्न सकिन्छ । जुम्लेली पात्रमा उनले गरेको अभिनय पनि प्रशंसायोग्य छ । अभिनेत्री दीया मास्केको लुक्स र अभिनयले पनि चलचित्रप्रति कौतुहलता पैदा गर्छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

ट्रेलर रिलिज कार्यक्रममा प्रदीपले ‘प्रकाश’बाट आफ्नो नयाँ जन्म भएको बताए । ‘चलचित्रमा मैले गर्न खोजेको हिसाबमा म खुशी छु । कसैले मलाई राम्रो वा नराम्रो गरिस् भनेर भनेको भएपनि मैले प्रयास गरेको छु र त्यसमा खुशी छु । टिजर, पोस्टरहरु आएपछि प्रशंसा हुँदा खुशी लागेको छ । अब चलचित्र व्यवसायिक रुपमा सफल भयो भने यो यात्रा सार्थक भएको महशुस हुनेछ,’ उनले भने ।

दीयाले भने ‘प्रकाश’मा आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका रहेको दाबी गरिन् । चलचित्रमा निर्वाह गरेको सीताको चरित्र नेपाली समाजमा अझै पनि ठूलो संख्यामा रहेको र त्यसैको प्रतिनिधित्व आफूले गरेको उनको भनाई छ । त्यस्तै, कमर्शियल चलचित्रका निर्देशकको रुपमा चिनिएका दिनेश राउतले ‘प्रसाद’भन्दा एक स्तर माथि उठेर ‘प्रकाश’ बनाउने प्रयास गरेको बताए ।

महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रमा प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu