‘प्रकाश’ले प्रदीपको स्टारडमलाई माथि उठाउँछ : दिनेश राउत



अभिनेता प्रदीप खड्काले अभिनय गरेको नयाँ चलचित्र ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा उनले अहिलेसम्मकै पृथक र चुनौतीपूर्ण भूमिका निर्वाह गरेका छन् । करिअरको सुरुवाती समयदेखि चकलेटी चरित्रमा सीमित हुँदै आएका उनले ‘प्रकाश’मा जुम्लाको एक विपन्न युवकको भूमिकामा अभिनय गरेका छन् । यो उनको ‘कम्फर्ट जोन’भन्दा बाहिरको हो ।

सुकिलो-मुकिलो पात्रमा रुचाइएका प्रदीपको ‘प्रकाश’मा मैलो पात्र छ । त्यसखालको चरित्रमा दर्शकले उनलाई स्वीकार गर्छन् वा गर्दैनन्, धेरैका लागि प्रतिक्षाको घडी बनेको छ । त्यस चरित्रमा दर्शकले स्वीकार गरे उनको नयाँ यात्रा सुरु हुनेछ । अन्यथा, उनको स्टारडममा समेत धक्का पुग्न सक्छ । कतिपयले निर्देशक दिनेश राउतले प्रदीपको स्टारडमलाई खुकुरीको धारमाथि राखेको विश्लेषण गरेका छन् ।

तर, निर्देशक राउत ‘प्रकाश’मा प्रदीपलाई अभिनय गराएर आफूले उसको स्टारडमलाई रिक्समा नराखेको बताउँछन् । बरु, यो चलचित्रले प्रदीपको स्टारडमलाई माथि उठाउने उनको विश्वास छ । ‘उसको स्टारडम जुन खालको छ, त्यसलाई चलचित्रले माथि उठाउँछ भन्ने लाग्छ । मैले त उसको राम्रैका लागि गरेको हुँ । चलचित्र चल्यो भने प्रदीपसँगै मलाई पनि राम्रो हुन्छ,’ दिनेशले भने ।

निर्देशक राउतलाई ‘प्रकाश’को क्यारेक्टरमा प्रदीपलाई देखेपछि उनका दर्शकले कसरी लेलान् भन्ने डर चाहिँ मनमा रहेछ । तर, फर्स्टलुक, टिजर, गीतमा प्रदीपको लुक्सलाई दर्शकले रचाएपछि उनी ढुक्क छन् । उनले आफ्नो अघिल्लो चलचित्र ‘प्रसाद’भन्दा एक स्तर माथि उठेर ‘प्रकाश’ बनाउने प्रयास गरेको पनि बताएका छन् । यो चलचित्रमा प्रदीप खड्का अडिसनबाट छानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu