आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको रन्जित रौनियार निर्देशित डेब्यू चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन मिश्रित छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठको झगडाबाट सुरु भएको ट्रेलरले मर्मस्पर्शी कथा भन्दै विट मार्छ ।

शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने महिला (सृष्टि श्रेष्ठ) आमा बनेपछि बच्चा अरुलाई सुम्पिन तयार नभएपछिको परिस्थितिलाई चलचित्रले बोल्ने ट्रेलरमार्फत् प्रस्ट्याउन खोजिएको छ । ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ छ । ट्रेलरमा सृष्टिको अभिनयमा परिपक्वता देखिएको छ ।
गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार यिओको पनि अभिनय रहेको छ । लामो समयपछि गोपीकृष्ण मुभिज चलचित्र निर्माणमा फर्किएको हो । एक समय यो ब्यानरले ‘कुशुमे रुमाल’ जस्तो चलचित्र बनाएको थियो ।
उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको चलचित्रमा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । चलचित्रको कथा निर्देशक रन्जित स्वयंको हो ।