चलचित्र ‘कबड्डी ४’को ऐतिहासिक सफलताले चर्चामा रहेकी अभिनेत्री मिरुना मगरले अध्ययनमा ठूलो सफलता हासिल गरेकी छन् । उनले मास्टर डिग्री पूरा गरेकी हुन् । लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड पनि जितेको खुशी मिरुनाले इन्स्टाग्राममार्फत् साटेकी छन् । उनले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर डिग्री गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘अनेक बाधाहरुको बावजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा चलचित्रको छायांकन पूरा गर्न सकेकोमा आफूलाई गौरवान्तित महसुस गर्दछु । कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा अन्ततः यो उपलब्धि हासिल भएको छ । म मेरो परिवार र साथीहरूलाई सधैं समर्थन र उत्प्रेरित गरेकोमा धन्यवाद नदिइरहँन सक्दिनँ । मेरो जीवनमा उहाँहरूलाई पाएकोमा धन्य र कृतज्ञ छु ।’
मिरुना अभिनीत ‘कबड्डी ४’ले हलमा प्रदर्शनको ५१औं दिन मनाइसकेको छ । यो अवधिमा चलचित्रले साढे २२ करोडभन्दा माथिको कमाई गर्दै नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने चलचित्रको रेकर्ड समेत बनाएको छ । लगातार असफलता भोगिरहेकी मिरुनालाई यो चलचित्रले ठूलो राहत दिएको छ । अहिले उनलाई ठूला ब्यानरबाट चलचित्रको अफर पुगिरहेको जानकारी प्राप्त छ ।