२०७५ सालको सफल चलचित्र ‘चंगाचेट’को दोस्रो सिरिज निर्माण हुने भएको छ । निर्मात्री शर्मिला पाण्डेले शुक्रवार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गराएकी हुन् । आगामी मंसिरपछि छायांकन सुरु हुने चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् । यसको अघिल्लो श्रृंखलालाई पनि उनले नै निर्देशन गरेका थिए । उनले अब स्क्रिप्ट लेखनको काम सुरु हुने जानकारी दिए ।

‘चंगाचेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । चलचित्र प्रदर्शनको समयमा वाग्लेलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्मातामा शर्मिला जोडिएकी थिइन् । निर्माता वाग्लेबाट ‘चंगाचेट’को अधिकार लिएर शर्मिलाले चलचित्र बनाउन लागेकी हुन् । निर्देशक खनालले ‘चंगाचेट २’मा अभिनेता अर्पण थापा फाइनल भइसकेको बताए । अन्य कलाकार भने स्क्रिप्ट फाइनल भएपछि मात्र छनोट गरिने उनको भनाई छ ।
यसपटक आफूले गम्भीर कथालाई रमाइलो तरिकाले प्रस्तुत गर्ने उनले बताए । दीपेन्द्रले भने- ‘सामाजिक कथालाई अलिकता व्यवसायिक रुपले प्रस्तुत गर्नुपर्छ भन्ने लागेर अब एक/दुईवटा चलचित्र त्यसरी नै निर्माण गर्नेछौं ।’ शर्मिलासँग दीपेन्द्रले चलचित्र ‘लभ लभ लभ’देखि सहकार्य गर्न थालेका हुन् । यसपछि उनीहरुले डीएस डिजिटलबाट ‘आमा’, ‘घर’, ‘चिसो मान्छे’ चलचित्रको निर्माण गरिसकेका छन् । ‘