‘पानीफोटो’को कथा अहिलेको हो : खगेन्द्र लामिछाने



भर्सटायल अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशनमा हात हालेको चलचित्र ‘पानीफोटो’ यही साउन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । करीब २० वर्षअघि गुरुकुलमा मञ्चन भएको ‘पानीफोटो’ नाटकको कथामाथि उनले चलचित्र बनाएका हुन् । नाटकको कथा तथा निर्देशन खगेन्द्र स्वयंको थियो । नाटकको कथासँगै केही अनुसन्धान गरेर उनले चलचित्रको कथा पूरा गरेका हुन् ।

खगेन्द्र ‘पानीफोटो’को कथा बेपत्ता भएका व्यक्तिको नभइ उसको परिवारको रहेको बताउँछन् । एक भेटमा उनले भने- ‘चलचित्रको कथा नै बेपत्ता भएका परिवारको हो । बेपत्ता भएको छोराको खोजीमा रहेका आमा-बुबाको कथा चलचित्रले भन्छ । कथा चाहिँ अहिलेको हो । द्वन्द्वकालिन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ ।’

चलचित्रको कथासँग आफ्नो बाल्यकालदेखिको कनेक्सन जोडिएको खगेन्द्रको भनाई छ । आफ्नो मामा १६ वर्षको उमेरमा हराएको सम्झँदै उनी भन्छन्, ‘मैले मामालाई देखेको नै छैन । मेरो ९४ वर्षको हजुरआमा अहिले पनि छोरा आउँछ भन्दै बस्नुभएको छ । हजुरआमाको आशाले म पनि मामाको प्रतिक्षामा छु । बच्चादेखि नै यो कुरा सुनेकाले मेरो मस्तिष्कमा गहिरो छाप बसेको थियो ।’

सशस्त्र द्वन्द्वमा हजारौं मानिस बेपत्ता भएपछि हजुरआमाको पीडालाई थप नजिकबाट महशुस गरेका उनलाई ‘पानीफोटो’ नाटक लेख्ने हुटहुटी त्यसैले जाग्यो । नाटकलाई धेरैले रुचाएपछि त्यो कथा अझ धेरै मानिससम्म पुर्‍याउनु पर्छ सोचेका उनले भविष्यमा आफैंले चलचित्र बनाउने अठोट लिए । आफ्नो २० वर्षदेखिको सपना साकार बनाउन पाएकोमा उनले खुशी व्यक्त गरे ।

चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, अशान्त शर्मालगायतको महत्त्वपूर्ण भूमिका छ । दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको स्थलगत सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन र पुष्पा संगमको पार्श्व संगीत छ रहेको चलचित्रका निर्माता रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu