‘प्रकाश’ले भविष्यको प्रेडिक्सन गरेको छ : प्रदीप खड्का



अभिनेता प्रदिप खड्काले आफू अभिनीत चलचित्र ‘प्रकाश’ले भविष्यको प्रेडिक्सन गरेको बताएका छन् । भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्रको प्रचारको क्रममा बुटवल पुगेका प्रदिपले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । शशस्त्र जनयुद्धको बलमा आएको ब्यवस्थाका केही कमजोरीहरुले अर्को बिद्रोह ल्याउन सक्छ भन्ने कुरा चलचित्रमा देखाइएको प्रदिपको भनाई छ ।

प्रदिपले व्यवस्थाको सम्मान गर्दै त्यसका कमजोरीहरु सुधार्न भने ढिला गर्न नहुने बताए । चलचित्र पनि एक साहित्य भएको र साहित्यले भविष्यको प्रेडिक्सन गर्न सक्नु र आफू त्यसको हिस्सा हुन पाउनु नै खुशीको कुरा भएको उनको भनाई छ । यही विषय भन्न लेखकले पुस्तक लेख्न सक्ने वा अन्य माध्यमहरु अबलम्बन गर्न सक्ने भएपनि चलचित्र नै बनाउनुको कारण यसले प्रस्तुत गर्ने विषय धेरै दर्शकमाझ पुगोस् भन्ने नै रहेको उनी बताउँछन् ।

चलचित्रकी अभिनेत्री दिया मास्केले आफ्ना लागि ‘प्रकाश’को पात्र निकै टफ रहेको बताइन् । अहिलेसम्म प्रायः चुनौतिपूर्ण भूमिकामै काम गरेको भएपनि ‘प्रकाश’को पात्र आफ्ना लागि निकै चुनौतिपूर्ण रहेको उनको भनाई छ । आफूले छायांकनअघि जुम्ला पुगेर त्यहाँको रहनसहन र भाषा तथा लवज सिकेको उनले बताइन । उनले भनिन्, ‘चलचित्रमा मैले निभाएको पात्रको सपना नै उसको परिवारको सपना हो । त्याग, सहनशिलता, धैर्यता, जिम्मेवारी के हो मैले निर्वाह गरेको पात्रले बुझाउँछ ।’

त्यस्तै अर्की अभिनेत्री रेणु योगीले ‘प्रकाश’ आफ्ना लागि अर्थपूर्ण रहेको जनाएकी छिन । यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेकी रेणुले जुम्लाको एक युवतीको भूमिकामा काम गरेकी छिन । चलचित्रका लागि आफुले पनि त्यहाँको भाषा सिक्नेदेखि रहनसहन, हिँड्ने, बोल्ने सबै तरिका सिकेको बताइन ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ ।

विकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu