मेनुकासँगको बोन्डिङले मलिकालाई ‘पानीफोटो’मा काम गर्न सहज



चलचित्र ‘यात्रा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिका महत अभिनीत दोस्रो चलचित्र ‘पानीफोटो’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा उनले गाउँले चरित्रमा अभिनय गरेकी छन् । उनी आफू एकपटक कुनै क्यारेक्टरमा छिरेपछि त्यसैमा बसिराख्ने बताउँछिन् । ‘पानीफोटो’को छायांकनका लागि स्याङ्जा जाँदा आफू केही दिनमा त्यहीँकै मान्छे जस्तो देखिन थालेको उनी स्मरण गर्छिन् ।

अभिनेत्री मेनुका प्रधानसँग राम्रो बोन्डिङ बनेकाले काम गर्न सजिलो भएको मलिकाको अनुभव छ । ‘चलचित्रमा मेरो बढीजसो सिन मेनिका दिदीसँग थियो । छायांकन हुनुभन्दा अगावै दिदीसँग मेरो राम्रो बोन्डिङ बनिसकेको थियो । त्यसैले पनि मलाई काम गर्न सजिलो भयो,’ उनले भनिन् । ट्रेलर र टिजरमा आफ्नो क्यारेक्टर र अभिनयलाई मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेकी मलिका चलचित्र आफैंमा राम्रो बनेको दाबी गर्छिन् ।

‘पानीफोटो’मा आफूले राधाको क्यारेक्टरमा अभिनय गरेको जानकारी दिँदै उनले अगाडि भनेकी छन्, ‘राधाको जुन इमोसन छ, त्यो धेरै हदसम्म मेरो व्यक्तिगत क्यारेक्टरसँग पनि मिल्दोजुल्दो छ । यही कारणले राधा क्यारेक्टरसँग जोडिन मलाई थप सजिलो भयो । मैले आफ्नो चरित्रमा गरेको मेहेनत चलचित्रमा देखिएको छ भन्ने लाग्छ ।’ चलचित्रलाई खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

चलचित्रमा मेनुका, मलिका र खगेन्द्रसँगै अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, अशान्त शर्मालगायतको महत्त्वपूर्ण भूमिका छ । रोजिना सिटौला र रविन्द्र बज्राचार्य निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको स्थलगत सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन र पुष्पा संगमको पार्श्व संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu