दीपकराज गिरी र दीपाश्री निरौला समुहको पहिलो चलचित्र ‘६ एकान ६’देखि पछिल्लो चलचित्र ‘छ माया छपक्कै’सम्म नछुटेका एक महत्त्वपूर्ण पात्र हुन्, जितु नेपाल । तर, महानायक विवादमा मुछिएका कारण दीपाश्री निरौलालाई ‘मुन्द्रेको कमेडी क्लब’बाट हटाएपछि जितुसँग दीपक-दीपाले पनि व्यवसायिक सम्बन्ध टुंग्याएका छन् । ‘छक्का पञ्जा ४’मा जितु नअट्नु यसको प्रमाण हो ।
तर, दीपक-दीपा र जितुबीच बोलचाल नै बन्द भने छैन । ‘छक्का पञ्जा ४’का लागि शुभकामना दिन जितु फूलको बुकेट लिएर सोमवार मुहुर्त कार्यक्रममा पुग्नुले पनि उनीहरुको व्यक्तिगत सम्बन्धमा परिवर्तन नआएको देखिन्छ । जितुले दीपकराज र केदारलाई फूलको बुकेट दिँदै आफूहरुको सम्बन्ध सधैं जीवित रहने बताए । उनले यो टिमलाई आफ्नो आवश्यकता परे सधैं साथमा उभिने वाचा समेत गरे ।

उनी भन्छन्, ‘हामीबीच कहिल्यै सम्बन्ध विग्रिएको छैन । एउटा चलचित्रमा नहुँदैमा सम्बन्ध विग्रने खालको हाम्रो सम्बन्ध होइन । हिजोका दिनमा ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बाँस्सै’ छुट्टा-छुट्टै गर्दा हामीबीच एकखालको प्रतिस्पर्धा जस्तै थियो । त्यसबेला पनि हामीले एकसाथ दशौं वर्षसम्म गाइजात्रा गर्यौं । त्यसैले एउटा चलचित्रमा नहुनुले कुनै माइने राख्दैन । मेरो भूमिका आएछ भने म सधैं तयार हुन्छु ।’
उनी आफ्नो र दीपकराज गिरीको स्वभाव पनि फरक रहेको बताउँछन् । ‘दीपक दाई रिजर्भ बस्न रुचाउनुहुन्छ । म भने फिटफिटे खालको छु,’ उनले अगाडि भने, ‘मेरो स्वभाव सबै ठाउँमा फैलिऊँ भन्ने खालको छ । त्यसैले यही टिममा मात्र रहेर काम गर्ने भन्ने होइन । म स्वतन्त्र छु । मलाई रोल र पारिश्रमिक चित्त बुझ्छ भने काम गर्छु । त्यसका लागि सबैभन्दा खुल्ला त यतातिर नै छु ।’
दीपकराज भने जितुसँगको सम्बन्धलाई उदाहरणको रुपमा लिन्छन् । आफूहरु काम पर्दा मात्र अंगालो मार्ने साथी नरहेको उनको तर्क छ । उनले भने, ‘हामीबीचको व्यवसायिक सम्बन्ध र व्यक्तिगत सम्बन्धमा आकाश-जमिनको फरक छ । हामी अस्वस्थ प्रतिस्पर्धा गर्ने, मित्रतामा खोट आउने खालको सन्देश दर्शकहरुलाई दिने पक्षमा छैनौं । हामीले फेरि चाँडै नै सहकार्य गर्नेछौं ।’