नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चर्चित अभिनेता भुवन केसीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको हो । बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । भुवन बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने सरकारले मंगलवार मात्र गर्दैछ ।

दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि गत असार १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर बोर्ड अध्यक्षका लागि विभिन्न मापदण्ड तोक्दै आवेदन माग गरेपछि भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए ।
भुवन केसीले आफ्नो करिअरको सुरुवात गायनबाट गरेका थिए । उनको डेब्यू चलचित्र भने ‘जुनी’ हो । आफ्नो करिअरमा सर्वाधिक सफल चलचित्र दिएका उनलाई ‘कुमुसे रुमाल’, ‘सन्तान’, ‘कन्यादान’, ‘चिनो’, ‘करोडपति’, ‘नेपाली बाबु’ लगायतका चलचित्रले सुपरस्टार बनाएको थियो । चलचित्र ‘ड्रिम्स’बाट निर्देशक समेत बनिसकेका उनी पछिल्लो समय चलचित्र निर्माणमा व्यस्त छन् ।