बेनिशाले यसरी पाएकी थिइन् ‘छक्का पञ्जा ४’



अभिनेत्री बेनिशा हमालको सोमवार (हिजो) जन्मदिन थियो । यसपालीको जन्मदिन उनका लागि यो अर्थमा विशेष रह्यो कि सोमवारै उनको मुख्य भूमिका रहने चलचित्र ‘छक्का पञ्जा ४’को घोषण, मुहूर्त र छायांकन सुरु भएको थियो । ब्रान्ड चलचित्रको सिरिजसँग जोडिएकाले बेनिशा आफ्नो यसपटकको जन्मदिन विशेष र स्मरणीय रहेको बताउँछन् । चलचित्रमा उनी दीपकराज गिरीको जोडीको रुपमा देखिनेछिन् ।

अब आफूलाई पनि धेरैले चिन्ने विश्वास लिएकी बेनिशा ब्रान्ड चलचित्रको सिरिजसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्छिन् । आफूलाई दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्रमा काम गर्ने इच्छा ‘छक्का पञ्जा’ आएदेखि नै रहेको उनको भनाई छ । उनले ‘छक्का पञ्जा ४’ पाउनुको किस्सा भने आफैंमा रोचक छ । दीपकराज गिरीले एउटा भवनको भूईंतल्लामा उनलाई चलचित्रको प्रस्ताव गरेका थिए ।

बेनिशा सम्झन्छिन्, ‘म एउटा चलचित्रको प्रिमियरमा गएको थिएँ । बेसमेन्ट (भूईंतल्ला) मा गाडी कुरेर बसिरहेको बेला दीपक दाई र निर्मल दाईसँग भेट भयो । दीपक दाईले ‘असारमा के छ तिम्रो’ भनेर सोध्नुभयो । मैले खाली छु भनेँ । दीपक दाईले ‘खाली नै राख है’ भनेर जानुभयो । म हेरेको हेर्‍यै भएँ ।’ दीपकराज गिरीले यति भनेपछि आफूले महिनौं फोनको प्रतिक्षा गरेको उनी बताउँछिन् ।

‘असार आउन लाग्दा समेत कसैको फोन नआएन । एकदिन दीपा दिदीले कल गर्नुभयो र एक चरण कुरा त भएको थियो होला नी भनेर सोध्नुभयो । मैले दीपक दाईसँग त्यहीँ भूईंतल्लामा भएको कुरा एक चरणको रहेछ भनेर बुझेँ,’ बेनिशा हाँस्दै भन्छिन् । उनी लामो समयदेखि फ्लप चलचित्रले धरमराएको करिअरलाई नयाँ जीवन दिने एउटा बलियो चलचित्रको प्रतिक्षामा थिइन् । उनको त्यो सपना ‘छक्का पञ्जा ४’ले पूरा गर्नेमा सम्भवतः दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu