चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई मनोनयन गर्ने मन्त्रिपरिषदको निर्णय



अभिनेता भुवन केसी नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी दुई वर्षका लागि उनलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसको घोषणा भने मंगलवार भएको छ । सञ्चार तथा सूचना मन्त्रालयले सार्वजनिक गरेको मन्त्रिपरिषद बैठकको निर्णयको ९औं नम्बरको बुँदामा उनलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने उल्लेख छ ।

दयाराम दाहालको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि आवेदन दिन माग गरेको थियो । जसअनुरुप भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए । उनीहरुको यसै हप्ता अन्तर्वार्ता भएको थियो ।

चलचित्र क्षेत्रको बागडोर समाल्ने अवसर भुवनका लागि जति सुखद् छ त्यति नै चुनौतीको चाङ पनि छ । बक्सअफिसलाई तुरुन्त कार्यान्वयन गर्नुपर्ने, बोर्डलाई स्वायत्त बनाउनु पर्ने, विदेशी फिल्मको थिचोमोचो अन्त्य गर्नुपर्ने लगायतका चुनौतीको पहाड उनको सामु छ । नेपाली चलचित्रमा चार दशकभन्दा बढी समय विताइसकेका भुवन पहिलो पटक चलचित्र क्षेत्रको नेतृत्व तहमा पुगेका हुन् ।

गायनबाट आफ्नो करिअरको सुरुवात गरेका भुवनले चलचित्र ‘जुनी’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । ९० को दशकमा चलचित्र क्षेत्रमा एकछत्र राज गरेका उनले आफ्नो करिअरमा एकसेएक सुपरहिट चलचित्र दिएका छन् । ‘कुमुसे रुमाल’, ‘सन्तान’, ‘चिनो’, ‘कन्यादान’, ‘करोडपति’, ‘सुपरस्टार’ जस्ता चलचित्रले उनलाई स्थापित गरेको थियो । चलचित्र ‘ड्रिम्स’बाट उनी निर्देशक समेत बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu