भुवन केसीले गरे पदभार ग्रहण, गोलमेच सम्मेलन गर्ने घोषणा



नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका अभिनेता भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधवार विहान ज्योतिषले दिएको साइतअनुसार उनले चावहिलमा अवस्थित बोर्डको कार्यालयमा पूजाआजासहित पदभार ग्रहण गरेका हुन् । बोर्ड अध्यक्षमा नियुक्त भएका अध्यक्षले पूजाआजापछि पदभार ग्रहण गरेको यो पहिलो पटक हो ।

पदभार ग्रहण गरेपछि अध्यक्ष केसीले चाँडै चलचित्र सम्बद्ध संघ-संस्था, चलचित्रकर्मी, पत्रकार र दर्शकहरुको उपस्थितिमा गोलमेच सम्मेलन गर्ने घोषणा गरे । उनले भने, ‘एक-दुई दिनमा नै बोर्डको बैठक बसेर गोलमेच सम्मेलनको प्रस्ताव तारित गर्नेछौं । जसमा प्राविधिकदेखि कलाकारसम्मको उपस्थिति रहनेछ । त्यहाँबाट चलचित्र क्षेत्रको समस्या र त्यसलाई समाधान गर्ने उपाय खोज्नेछौं ।’

४० वर्षको करिअरमा आफूले नेपाली चलचित्र क्षेत्रका धेरै समस्याहरु देखेकाले त्यसलाई समाधान गर्न प्रयास गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । सरकारले आफ्नो योगदानको मुल्यांकन गरेर अध्यक्षको जिम्मेवारी दिएको बताउँदै उनले अगाडि भने, ‘म अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्न आएको हुँ । म आफ्नो कार्यकालमा तन, मन, वचन र सबैलाई साथमा लिएर नै काम गर्नेछु ।’

कांग्रेस प्रवेश गरेकै कारण उनले बोर्ड अध्यक्ष पाएको भन्दै टिका-टिप्पणीहरु पनि भइरहेको छ । यसविषयमा उनले चलचित्र क्षेत्रको हकहितका लागि आफू जहाँ जान पनि तयार रहेको तर्क गरे । ‘म जहाँ गए पनि चलचित्र क्षेत्रको विकासका लागि जान्छु । मेरो सपना नै चलचित्र क्षेत्रको विकास गर्नु हो,’ भुवनले थपे, ‘यदी म एकजना शहिद भएर हाम्रो चलचित्र क्षेत्र राम्रो हुन्छ भने मलाई स्वीकार्य छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu