गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ



गायक तथा चलचित्रका अभिनेता प्रशान्त तामाङ छोरीको पिता बनेका छन् । उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान दार्जिलिङको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले छोरीका केही तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू पिता बनेको खुशी साटेका छन् । उनले छोरीको नाम ‘आरिया’ राखेको पनि जानकारी गराएका छन् ।

प्रशान्त र मार्थाले करीब तीन वर्षअघि प्रेम विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् । पछिल्लो समय प्रशान्त परिवारसँग दार्जिलिङमा नै बस्दै आएका छन् । एक समय गायन र चलचित्र अभिनयमा व्यस्त रहेका उनको नयाँ चलचित्र ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रको प्रचारका लागि उनी दशैंअघि नेपाल आउने जानकारी प्राप्त छ ।

गत वर्ष प्रशान्तलाई मातृशोक परेको थियो । कोरोनाका कारण उनको आमाको उपचारको क्रममा निधन भएको थियो । ‘इन्डियन आइडल ३’को विजेता भएपछि उनले ‘मन साइँली’, ‘अरे क्यानम’, ‘असारे महिना’, ‘रातो रानी’ जस्ता चर्चित गीत गाए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ लगायतका चलचित्रमा अभिनय पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu