गत वर्ष नेपालमा सफल प्रदर्शन भएको सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यही जुलाईदेखि अष्ट्रेलियामा प्रिमियर भइरहेको छ । चलचित्रको विदेश यात्रा नै अष्ट्रेलियाबाट सुरु भएको हो । जुलाई १८ मा न्यूक्यासल, जुलाई २२ मा सिड्नी र जुलाई २६ मा मेलबर्नमा चलचित्रको प्रिमियर भएको छ । प्रिमियरका लागि यतिबेला अभिनेत्री पूजा शर्मा र निर्देशक थापा अष्ट्रेलियामा छन् ।

तीनवटै शहरमा भएको प्रिमियरमा चलचित्र हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको विदेश राइट्स खरिद गरेको कम्पनी नेप्सिनेका नेपाल प्रमुख विधान कार्कीले बताए । मंगलवार मेलबर्नमा अवस्थित ३ सय सिट क्षमताको हूवर हलमा चलचित्र हेर्नका लागि साढे २ सयभन्दा बढी दर्शकको उपस्थिति रहेको र अधिकांशले चलचित्रलाई रुचाएको आयोजक विशाल बुढाथोकीले जानकारी दिए ।

त्यस्तै, कृष्णराज अर्यालले न्यूक्यासलमा चलचित्रको प्रिमियर आयोजना गरेका हुन् भने कलर अफ नेपालले सिड्नी प्रिमियर गरेको हो । तीनवटै शहरको प्रिमियरमा पूजाको राम्रो क्रेज देखिएको थियो । उनीसँग फोटो खिच्न र कुराकानी गर्न दर्शकहरुको ठूलो भीड लागेको विधान कार्कीले बताए । निर्देशक सुदर्शन थापाप्रति पनि दर्शकहरुले उतिक्कै प्रेम दर्शाएको उनको भनाई छ ।

तीनवटै शहरको प्रिमियरमा पूजाले हिरासतमा रहेका अभिनेता पल शाहलाई एकदमै ‘मिस’ गरेकी थिइन् । चलचित्रमा पूजा र पलको प्रेममा आउने चतार-चढावलाई प्रस्तुत गरिएको छ । हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतको पनि मुख्य भूमिका रहेको चलचित्रको निर्माण सुदर्शन थापा र पूजा शर्माले मिलेर गरेका हुन् ।