ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । गीत भिडियोमा चलचित्रका चल-अचल दृश्य समावेश छन् । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा चलचित्रका कलाकारहरु केकी अधिककारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । चलचित्रमा केकी र आँचल जेठानी-देवरानीको भुमिकामा देखिएका छन् । चलचित्रको यसअघि सार्वजनिक ‘आगो बिना बिँडी जल्दैन’ गीत लोकप्रिय भइसकेको छ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको चलचित्रको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले चलचित्रलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । आगामी भदौ १७ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ । एक समय एकसेएक सफल चलचित्र दिएका ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’बाट ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।