‘गोर्खा: बिनिथ द ब्रेभरी’ले बेलायतबाट प्रदर्शन थाल्दै



नेपाली गोर्खा सैनिकहरुले चिनाएको देश मानिने बेलायतबाट नेपाली चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई २०२२, शुक्रवारबाट बेलायतका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले चलचित्रलाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाई छ । यो चलचित्र सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ ।

चलचित्रले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर (युके आर्मी सिनेमा) मा पनि चलचित्र प्रदर्शन हुने निर्देशक शाहीले बताए । बेलायत प्रदर्शनमा चलचित्रलाई ह्याम्पशायर एकाउन्टेन्टले प्रायोजन गरेको छ भने कुकुरी रमले प्रमोशनमा सघाएको छ ।

आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि चलचित्रको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ । नेपालमा चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन चलचित्र निर्माण गरेको जानकारी दिएका छन् । त्यस्तै, निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित चलचित्रमा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताएका छन् । चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu