मिरुनाविरुद्ध गाली बेइज्जती र कुटपिट सम्बन्धि मुद्दा दर्ता



आफूमाथि कुटपिट गरेको भन्दै बौद्ध भिक्षु फुर्पा तामाङले घटना भएको दुई महिनापछि अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिट सम्बन्धि मुद्धा दर्ता गरेका छन् । चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न जेठ १६ गते काठमाडौंको सिभिल हलमा जाने क्रममा मिरुनाले ‘ब्याड टच’ गरेको भन्दै फुर्पालाई थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् ।

तामाङले दर्ता गरेको मुद्धामा मिरुना मगरसँगै चलचित्रका प्राविधिक पृथ्वीसिंह ठकुरीलाई विपक्षी बनाएका छन् । उनले कानुन बमोजिम सजायको माग गरेका छन् । माफी माग्ने विषयमा पटक–पटक पहल गर्दा पनि मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्पाले अदालतमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।

मिरुनाले फुर्पालाई थप्पड हानेको भिडियो भाइरल भएपछि मिरुना र ‘कबड्डी ४’ विरुद्ध बौद्ध धर्मालम्बीहरु सडकमै उत्रिए । जेठ १७ गते तीन हजार धरौटीमा फुर्पा छुटे । उनी प्रहरीबाट छुटेकै दिन केही बौद्ध धर्मालम्बीहरु र ‘कबड्डी ४’ टिमको रोहबरमा फुर्पा र मिरुनाले आ-आफ्नो गल्ती स्वीकार गर्दै एकअर्कासँग माफी गरे ।

तर, यो मिलापत्र भएकोप्रति बौद्ध धर्मालम्बीहरुको ठूलो जमातले व्यापक विरोध गर्‍यो । आफ्नो पक्षमा आवाज उठ्न थालेपछि फुर्पाले पनि बोली फेर्दै मिरुना रोएपछि नगरेको गल्ती पनि स्वीकार गरेर माफी मागेको बताएका थिए । ‘कबड्डी ४’ले प्रदर्शनको ५१ दिन मनाएर हलबाट उत्रिसकेपछि फुर्पा र मिरुनाको विवाद फेरि बल्झिएको छ । मिरुना भने अहिले लण्डनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu