साउन २० बाट पुनः प्रदर्शन हुँदै ‘चपली हाइट ३’



निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ तेस्रो पटक प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस्ले बिहीवार एक विज्ञप्ति जारी गर्दै यही साउन २० गतेबाट चलचित्र पुनः प्रदर्शन हुने जानकारी गराएको छ । यो मितिमा दुई नयाँ नेपाली चलचित्र ‘म’ र ‘आँधी तुफान २’ पनि प्रदर्शनमा आउने तयारीमा छन् । सस्पेन्स-थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्माता अर्जुन कुमार हुन् ।

यसअघि यो चलचित्र २०७८ सालको पुष ३० गते पहिलो पटक प्रदर्शन भएको थियो । तर, माघ ३ गते सरकारले कोरोना संक्रमण बढेको भन्दै हल बन्द गरेपछि चलचित्रको प्रदर्शन तीन दिनमै रोकियो । हल खुलेपछि गत फागुन १ गतेबाट चलचित्र पुनः प्रदर्शन भएको थियो । तर, दर्शकको साथ पाउन सकेन । तेस्रो मौकामा चलचित्रले दर्शकलाई आकर्षित गर्न कति सफल होला, त्यो भने हेर्न बाँकी छ ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतको अभिनय छ । पहिलो पटकको प्रदर्शनमा चलचित्रले समीक्षकबाट सुखद् समीक्षा पाएको थियो । चलचित्रको सस्पेन्स पाटोलाई सशक्त मानिएको छ । निर्माता अर्जुन कुमार चलचित्र राम्रो रहेकाले यसपटक दर्शकहरुको साथ पाउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu