‘प्रकाश’ले कलाकार बनाएकोमा प्रदीपको खुशी



आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको ‘प्रकाश’को प्रचार-प्रसारका लागि यतिबेला अभिनेता प्रदीप खड्का देश दौडाहामा छन् । बिहीवार पोखरा पुगेका उनले चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउने दाबी गरे । ‘चलचित्र समाजको यथार्थतामा आधारित कथा हो । नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई चलचित्रमा देखाउन खोजिएको छ,’ उनले भने । चलचित्रले आफूलाई कलाकार बनाएकोमा उनले गर्व महशुस गरे ।

चलचित्रमा प्रदीपको आमाको भूमिकामा अभिनय गरेकी अभिनेत्री दीया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत् देखाउन खोजेको धारणा राखिन् । एउटा युवकले गाउँको सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्ष चलचित्रको मूल कथा भएता पनि आमा र छोराको भावनात्मक सम्बन्धको कथालाई पनि प्रस्तुत गरिएको दीयाको भनाई छ ।

निर्देशक दिनेश राउतले समाजको यथार्थपरक कथालाई व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै ‘प्रकाश’ले नेपाली समाजको यथार्थतालाई जीवन्त रुपमा पस्किएको बताए । उनले आफ्नो अघिल्लो चलचित्र ‘प्रसाद’भन्दा एक स्तरमाथि उठेर काम गरेको पनि दाबी गरे । त्यस्तै, लेखक विकास सुवेदीले जीवन सङ्घर्षको पहाड भएको विषयलाई चलचित्रमा चित्रण गरिएको बताए ।

महेन्द्र अधिकारीले साढे २ करोडको लागतमा निर्माण गरेको चलचित्रमा रेनु योगी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, दिपेन्द्र शाहीलगायतको पनि अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu