अभिनेत्री प्रियंका कार्कीले ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ चलचित्रबाट कमब्याक गर्ने भएकी छन् । चलचित्र ‘फूलबारी’मा उनले अभिनय गर्ने टुंगो लागेको हो । २०७६ सालमा आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाँधिएपछि उनले चलचित्रमा काम गरेकी थिइनन् । गत वर्ष छोरीलाई जन्म दिएकी उनी यतिबेला सुत्केरी तौल घटाउन कसरत गरिरहेकी छन् ।

चलचित्रमा यसअघि नै अभिनेताद्वय दयाहाङ राई र विपिन कार्की प्रमुख भूमिकामा अनुबन्ध भइसकेका छन् । आगामी भदौ १३ गतेदेखि छायांकन सुरु हुन लागेको चलचित्रमा विपिनले दयाहाङको पिताको भूमिकामा अभिनय गर्दैछन् । यसअघि यो भूमिकाको अफर अभिनेता राजेश हमाललाई गरिएको थियो । तर, उनले अहिले नै दयाहाङको पिता बन्न ठाडै अस्वीकार गरे ।
फ्यामिली ड्रामामा निर्माण हुन लागेको चलचित्रले अभिभावक र सन्तानको कथा वाचन गर्ने बताइएको छ । चलचित्रको शीर्षक ‘फूलबारी’ राखिए पनि छायांकनमा जानुअघिसम्म नाम परिवर्तन हुनसक्ने बताइएको छ । यशोधा फिल्म्सको ब्यानरमा चलचित्र निर्माण हुनेछ । आमा बनेपछि चलचित्रमा फर्किन प्रियंका उत्साहित देखिएकी छन् । अब दर्शकले उनलाई कसरी स्वीकार गर्छन्, हेर्न बाँकी छ ।