‘जीवन काँडा कि फूल’को भारत प्रदर्शन निश्चित



नेपालमा प्रदर्शन भइसकेको चलचित्र ‘जीवन काँडा कि फूल’ अब भारत प्रदर्शन हुने भएको छ । चलचित्रकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ तारिखबाट भारतका विभिन्न स्थानहरूमा चलचित्र एकसाथ प्रदर्शन कन्फर्म भएको बताइन् । सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा चलचित्र प्रदर्शन हुने उनको भनाई छ ।

जीवन काँडा कि फूल’ साहित्यकार झमक घिमिरेको मदन पुरस्कार कृतिमाथी बनेको हो । झमकको कृति पढिसकेका र नेपाल प्रदर्शनको समयबाट प्रतिक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ चलचित्रको माग भए अनुसार प्रदर्शनी तय भएको निर्देशक विनोद विष्टले बताए । भारतमा रहेका नेपालीमाझ चलचित्र लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन् ।

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिए पश्चात यो चलचित्रको भारत प्रदर्शन रोकिएको थियो । चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भुमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । त्यस्तै, सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तीको संवादमा सहकार्य रहँदा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी छन् । चलचित्रमा समावेश गीतहरूमा शब्द संगीत प्रकाश शिवाकोटीको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेखेकी छिन् । समावेश गीतहरूमा स्वर जुनु गौतम, सरिता गजमेर र मीना निरौंलाले दिएका छन् । गीतका भिडियोहरूमा कोरियोग्राफी कमल राईको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu