अनुप बराल निर्देशित चलचित्र ‘दोख’को अष्ट्रेलियामा विशेष शो गरिएको छ । अष्ट्रेलियाको सिड्नीमा गरिएको शोमा चलचित्रका निर्माता मनोज अधिकारी र कार्यकारी निर्माता रञ्जु वाग्ले थापासहित उल्लेख्य संख्यामा नेपालीहरु सहभागी थिए । विशेष शोमा सबैले चलचित्रको तारिफ गरेका छन् । निर्माता मनोज अधिकारीले अष्ट्रेलियाको अन्य शहरमा पनि चाँडै चलचित्रको विशेष शो आयोजना हुने जानकारी दिए ।

दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने चलचित्र हेरेपछि धेरैले भावुक भएको प्रतिक्रिया दिएका थिए । अष्ट्रेलियामै जन्मेका दोस्रो पुस्ताका नेपालीहरुले पनि चलचित्रको कथालाई विशेष चासोका साथ हेरेको कार्यकारी निर्माता रन्जु वाग्लेले जानकारी दिइन् ।

२ घण्टा १३ मिनेट लामो चलचित्रलाई नेपालमा समीक्षकले राम्रो प्रतिक्रिया दिएका थिए । नेपाली मौलिक कथावस्तुमा निर्माण भएको ‘दोख’लाई राजन कठेतले लेखेका हुन् । चलचित्रमा कलाकार दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप,राज थापा काउछा, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको छ ।

चलचित्रले द्वन्द्वकालमा सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।