चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएयता हरेक दिन विभिन्न व्यक्ति तथा संघ-संस्थाहरुबाट बधाई ज्ञापन गर्न भ्याइनभ्याइ रहेका अभिनेता भुवन केसीले बुधवार हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रममा राज्यको तर्फबाट सहयोग नमिलेकाले चलचित्र क्षेत्रले छलाङ मार्न नसकेको बताएका छन् ।

उनले भने, ‘चलचित्र क्षेत्रलाई राज्यले जसरी सहयोग गर्नुपर्थ्यो, त्यो भएको छैन । जसले गर्दा चलचित्र क्षेत्रले छलाङ मार्न सकेन । मलाई सरकारले ‘तपाईं केही गर्नुस् हामी साथ-सहयोग गर्छौं’ भनेर वाचा गरेकाले अब नेपाली चलचित्र क्षेत्रलाई राज्यबाट पूर्ण सहयोग मिल्छ भन्नेमा विश्वस्त छु ।’ उनले सिनेमा घर संरक्षण गर्न सकेको खण्डमा मात्र चलचित्र सफल हुने धारणा पनि व्यक्त गरे ।

उनले थपे- ‘मैले सिनेमा घरहरुलाई नेपाली चलचित्र क्षेत्रको मन्दिर भन्ने गरेको छु । यदी मन्दिर नै छैन भने कहाँ चलचित्र चल्छ अनि कहाँ पुजा गर्ने ? त्यो मन्दिरलाई हामी सबै मिलेर संरक्षण गर्न सकेनौं भने चलचित्र क्षेत्र सफल हुन सक्दैन । त्यसैले सिनेमा घरहरुको समस्यालाई पनि अवश्य समाधान गर्नेछु ।’ उनले नेपालमा हलको संख्यामा वृद्धि हुन आवश्यक रहेको पनि बताएका छन् ।