९ सेक्टेम्बरदेखि भारतका हलमा ‘सम्झना बिर्सना’



गत असार ३१ गते नेपालमा प्रदर्शन भएको चलचित्र ‘सम्झना बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । ९ सेक्टेम्बर (भदौ २४ गते) बाट चलचित्रलाई भारतमा प्रदर्शन गर्न लागिएको हो । निर्माता आदित्य प्रधानले चलचित्र पहिलो चरणमा ९ सेक्टेम्बरबाट दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने जानकारी दिए ।

‘हामी विभिन्न चरणमा गरेर चलचित्र रिलिज गर्दैछौं,’ दार्जिलिङबाट उनले भने, ‘दोश्रो चरणमा ७ अक्टोबरबाट असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेश्रो चरणमा २१ अक्टोबरबाट बाँकी शहरहरुमा प्रदर्शन गर्दैछौं ।’ उनले भारतमा नेपाली चलचित्रको बजार राम्रो रहेको र त्यसलाई विस्तार गर्न ‘सम्झना बिर्सना’को प्रदर्शनले सघाउने विश्वास व्यक्त गरे ।

भारतका हलमा चलचित्रलाई अंग्रेजी सबटाइटलमा प्रदर्शन गरिने निर्माता प्रधानले जानकारी दिए । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौं । त्यसैले भारतमा नेपाली भाषामै रिलिज गर्नेछौं । तर, नेपाली नबुझ्नेहरुका लागि भने अंग्रेजी सबटाइटल राख्ने योजनामा छौं ।’ चलचित्रलाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।

रेबिका प्रधान पनि निर्माता रहेको चलचित्रले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन् । सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि अभिनय रहेको चलचित्रलाई दार्जिलिङ, सिलगुढी, सिक्किम क्षेत्रमा छायांकन गरिएको थियो । चलचित्रमा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी,अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu