काठमाडौं। अमेरिकामा स्थायि बसोवास गरिरहेका नेपालीहरुको सक्रियतामा संचालित नक्षत्र फाउन्डेशनद्वारा नेपाली तथा भारतिय संगीतका मानक स्रष्टाका गुरु रनजीत गजमेरलाई नगद सहित सम्मान गरेको छ । बुधवार साँझ काठमाडौंको पाँचतारे होटल र्याडिशनमा एक सांगीतिक कार्यक्रमको आयोजना गरी नगद रु. १ लाख सहित सम्मान गरिएको हो । सोहि अवसरमा मेनुका फाउन्डेशनले पनि नगद रु. ५० हजार सहित सम्मान गरेको थियो ।

नेपाली चलचित्रका गीतसंगीतका शिखर पुरुष गजमेरलाई उहाँको योगदानको सम्मान गरिएको नक्षत्र फाउन्डेशनका सिईओ अर्जुन सुवेदीले बताए । ‘हामी जहाँ छौं त्यहाँ नेपाली गीतसंगीत हुनुको एक प्रमूख कारण रनजीत गजमेर हुनुहुन्छ । युगपुरुष उहाँलाई हामीले सम्मान गर्ने अवसर प्राप्त गर्दा बेहद खुशी छौं’, सुवेदीले बताए । कार्यक्रममा बोल्दै बरिष्ठ कवि तथा रेडियो नेपालका निर्देशक नबराज लम्सालले गजमेर चार पुस्ताका संगीतकार रहेको जिकिर गरे । उनले गजमेर नेपाल, दार्जीलिंग र मुम्बईको संगीतको त्रिवेणी रहेको बताए ।
नक्षत्र फाउन्डेशन सन् २०२० मा सहयोग जरुरी रहेका बालबालिकाको क्षेत्रमा काम गर्न शुरु भएको गैरनाफामुलक संस्था हो । केहि समयको लागि नेपाल आएका फाउन्डेशनका सिईओ सुवेदीले पुर्वि नेपालको झापामा रहेको एक विद्यालय उद्घाटन गरेको बताए । उक्त विद्यालयलाई फाउन्डेशनले आर्थीक सहयोग गरेको छ । त्यस्तै, झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा सहयोग हस्तान्तरण गरेको पनि सुवेदीले बताए ।