दीपक भन्छन्, ‘पुष्प नभएको भए ‘कृष्ण लीला’ बन्दैन थियो’



आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण लीला’मा अभिनेता पुष्प खड्काले सुस्त मनस्थिति भएको चरित्रमा अभिनय गरेका छन् । यो चरित्र उनका लागि आफैंमा चुनौतीपूर्ण हो । यसमा उनको सशक्त अभिनय देखिनुपर्ने हुन्छ । चकलेटी हिरोहरु यसप्रकारको चरित्रमा अभिनय गरेर जोखिम उठाउन चाहँदैनन् न त निर्माता-निर्देशकहरुको रोजाईमा नै खासै पर्छन् ।

तर, ‘कृष्ण लीला’मा निर्देशक दीपक वलीले पुष्पबाहेक अरुलाई कल्पना नै गरेका रहेनछन् । हालै एक भेटमा उनले भने, ‘चकलेटी हिरोहरुले चुनौतीपूर्ण चरित्रमा अभिनय गर्न सक्दैनन् भन्ने सोचाई हामीकहाँ व्याप्त छ । तर, मैले चलचित्रका लागि पुष्पबाहेक अरु विकल्प खोजेको थिइनँ । पुष्प नभएको भए सम्भवतः यो चलचित्र नै बन्दैन थियो होला । उहाँको विकल्प नै थिएन ।’

निर्देशक वली ‘मंगलम’ हेरेपछि नै आफूले पुष्पलाई ‘कृष्ण लीला’को क्यारेक्टरमा सोचेको बताउँछन् । ‘मैले ‘मंगलम’ हेरेपछि ‘कृष्ण लीला’को अटिजम क्यारेक्टर पुष्पाले नै गर्न सक्नेमा विश्वस्त भएको थिएँ । किनकि, ‘मंगलम’ र ‘कृष्ण लीला’को क्यारेक्टरको सोच्ने तरिका फरक भए पनि चरित्र निर्माण र अभिनयमा गर्नुपर्ने मिहेनत फरक थिएन । र, म उहाँको कामबाट सन्तुष्ट छु,’ उनले भने ।

यसअघि ‘रोल्पा रोग’, ‘पण्डित बाजेको लौरी’, ‘कुम्भ करण’को निर्देशन गरिसकेका उनी ‘कृष्ण लीला’ आफ्ना अघिल्ला चलचित्रभन्दा केही फरक रहेको बताउँछन् । दीपक भन्छन्, ‘दर्शकलाई हलमा बाँध्न मनोरञ्जनको खुराक पनि चाहिने रहेछ । ‘कृष्ण लीला’मा सन्देशसँगै मनोरञ्जन पनि छ । चलचित्रलाई कमर्शियल रुपमा बनाएका छौं । मेरो अघिल्ला चलचित्रभन्दा केही फरक पनि पक्कै छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu