कात्तिक ११ मा ‘महापुरुष’, फर्स्टलुकमा यस्तो देखिए हरिवंश



‘जात्रा’ जस्तो सफल चलचित्रका निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘महापुरुष’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार निर्माण टिमले दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ११ गते (भाईटीकाको भोलीपल्ट) लाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो चलचित्र दशैंमा आउने चर्चा थियो । तर, निर्माण टिमले तिहार रोजेको छ ।

एउटा फर्स्टलुक पोस्टरमा चलचित्रका प्रमुख कलाकार द्वय हरिवंश आचार्य र गौरी मल्ल बेहुला र बेहुलीको भेषमा देखिएका छन् । उनीहरुको घाँटीमा दुबोको माला देख्न सकिन्छ । पृष्ठभूमिमा भने दुई पात्र आँखामा कालो पट्टी बाँधेर कुदेका छन् । त्यस्तै, दोस्रो पोस्टरमा हरिवंश आचार्य पिंजडामाथि बसेको सुँगालाई हेर्दै मुस्कुराइरहेको अवस्थामा प्रस्तुत छन् । यसमा उनको लुक्स भिन्न छ ।

दीपेश खत्री निर्माता र रविन्द्रसिंह बानियाँ कार्यकारी रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको पनि अभिनय छ ।

षट्कोण आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा लेखन प्रदीप भट्टराई स्वयंको हो । ‘शत्रुगते’पछि महजोडीसँग निर्देशक भट्टराईको दोस्रो सहकार्य हो । दीपक बज्राचार्यले खिचेको चलचित्रमा मित्र डी. गुरुङको सम्पादन, नवराज पराजुलीको गीतमा शब्द रचना, रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व संगीत, जुनिम गहतराजको कलर र किशोर आचार्यको ध्वनि संयोजन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu