आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘माइकल अधिकारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘छुक छुक रेल गाडी’ बोलको गीतमा प्रकाश दास र अस्मिता अधिकारीको स्वर रहेको छ भने शैलेश कँडेल क्षेत्रीको शब्द रचना र रेवन सिंहको संगीत छ । कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छन् ।
उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार यिओलगायतको पनि अभिनय छ । आर्थिक समस्याका कारण अर्काको भ्रूण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा आधारित भएर चलचित्र निर्माण भएको हो ।
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनकै हो ।