मलाई फरक भूमिका गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ : सृष्टि श्रेष्ठ



मिस नेपालको बाटो हुँदै अभिनेत्री बनेकी सृष्टि श्रेष्ठले अभिनय गरेका दुई चलचित्र ‘माइकल अधिकारी’ र ‘राधा’ आगामी भदौमा एक हप्ताको अन्तरमा प्रदर्शन हुँदैछन् । ‘माइकल अधिकारी’ भदौ ३ गतेबाट प्रदर्शन हुँदैछ भने ‘राधा’ भदौ १० गतेबाट प्रदर्शनमा आउँदैछ । यी दुवै चलचित्रमा सृष्टिले अहिलेसम्मकै फरक चरित्रमा अभिनय गरेकी छन् । जुन उनी आफैंका लागि पनि चुनौतीपूर्ण थिए ।

सृष्टि आफूलाई अलग खालको चरित्रमा अभिनय गर्न मन पर्ने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई भर्खर आर्टिस्ट भइरहेको छु जस्तो लाग्न थालेको छ । मैले सानैदेखि अभिनय गर्छु भनेर सोचेको होइन । विस्तारै मैले आफूलाई खोज्दै छु । चलचित्रमा काम गर्ने क्रममा मेरो बुझाई जसरी परिवर्तन भइरहेको छ, त्यसअनुरुप नै मलाई फरक-फरक भूमिका गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ ।’

बेलायतमा हुर्किएकाले उनी नेपालको ग्रामिण जनजीवनसँग नजिक हुन पाइनन् । यसले गर्दा पनि गाउँको कथा र चरित्रमा काम गर्न मन लाग्ने गरेको उनको भनाई छ । ‘म बेलायतमै हुर्किएँ । नेपालको ग्रामिण भेगसँग म त्यति नजिक हुन पाइनँ । त्यसैले मलाई गाउँको कथा र चरित्रमा काम गर्न एकदमै मन लाग्छ,’ सृष्टिले अगाडि भनिन्, ‘फरक खालको भूमिका गर्नु मेरो आफ्नो रुचि हो ।’

‘माइकल अधिकारी’मा उनले अरुका लागि बच्चालाई जन्म दिन कोख भाडामा लगाउने विवाहित महिलाको भूमिकामा अभिनय गरेकी छन् । उनी यो चलचित्रमा काम गर्न राजी हुनुको कारण बलियो स्क्रिप्टलाई मान्छिन् । पहिलो पटक कमिकल क्यारेक्टरमा काम गरेकाले आफ्नो लागि नयाँ अनुभव भएको उनको कथन छ । चलचित्रमा उनको जोडीको रुपमा अभिनेता सौगात मल्ल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu