राजेश हमालको चलचित्र खिच्ने तयारीमा थिए विदुर पाण्डे



छायाँकार विदुर पाण्डेको बुधवार विहान देहान्त भयो । उपचारका लागि काठमाडौंको गंगालाल हृदयरोग अस्पतालमा लैजाने क्रममा ५५ वर्षको उमेरमा हृदयघातका कारण उनको निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधवार विहान पशुपति आर्यघाटमा राखिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न थुप्रै चलचित्रकर्मीहरु आर्यघाट पुगेका थिए ।

छायाँकार पाण्डे आगामी भदौ पहिलो साताबाट अभिनेता राजेश हमालले अभिनय गर्न लागेको एक नयाँ चलचित्र खिच्ने तयारीमा थिए । बेलायत बसेर पढ्ने एक निर्देशकले नेपालको रारा क्षेत्रमा छायांकन गर्न लागेको अंग्रेजी भाषामा निर्माण हुने चलचित्रको वर्कशपमा बुधवार बेलुकासम्म उनी पनि सहभागी थिए । तर, वर्कशप सकेर घर पुगेपछि विहानीपख उनको स्वास्थ्यमा समस्या आएको थियो ।

छायाँकार पाण्डेलाई आफ्नो करिअरमा कहिल्यै अभिनेता राजेश हमालले अभिनय गरेको चलचित्र खिच्ने मौका जुरेको थिएन । मिल्ने साथी भएकाले पनि हमाललाई पहिलो पटक क्यामेरामा कैद गर्न उनी उत्साहित थिए । तर, उनको त्यो सपना अब कहिल्यै पूरा नहुने भएको छ । छायाँकारको रुपमा झन्डै डेढ दशक विताइसकेका उनी पहिलो नेपाली डिजिटल चलचित्र ‘कागबेनी’का छायाँकार हुन् ।

चलचित्रसँगै टेलिभिजन तथा म्यूजिक भिडियोमा काम गरेका पाण्डेले पन्ध्र सयभन्दा बढि म्यूजिक भिडियो खिचेका छन् । सम्भवतः सर्वाधिक म्यूजिक भिडियोको छायांकन गर्ने उनी पहिलो नेपाली छायाँकार हुन् । उनले दर्जनौं विज्ञापन तथा वृत्तचित्रको पनि छायांकन गरेका छन् । उनले ‘कागबेनी’का साथै ‘पण्डित बाजेको लौरी, ‘भूईंमान्छे’, ‘जंग बहादुरको कोट’, ‘मेरो बेस्ट फ्रेण्ड, ‘स्वर’ लगायतका चलचित्रहरु पनि छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu