रामबाबुको ‘फूलबारी’ घोषणा, मुख्य भूमिकामा विपिनदेखि दया-प्रियंकासम्म



रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको चलचित्र ‘फूलबारी’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । बुधवार साँझ पाँचतारे होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको घोषणा गर्दै सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’लाई चिनाइयो । आगामी भदौ पहिलो साताबाट छायांकनमा निस्किन लागेको चलचित्रले आमा-बुबा र सन्तानबीचको सम्बन्धको कथा भन्नेछ ।

यशोधा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सृजना सुब्बा, प्रियंका कार्की, मिरुना मगरलगायतको अभिनय रहनेछ । कमल किशोर मलपानीको कथा तथा कन्सेट रहेको चलचित्रको पटकथा उपेन्द्र सुब्बाको हो । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहने चलचित्रलाई अमेरिकी छायाँकार जोस हेरमले खिच्नेछन् ।

मनिष ढकाल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा मणीराम पोखरेल छन् । कार्यक्रममा लेखक उपेन्द्र सुब्बाले चलचित्रको कथा पूर्ण रुपमा तयार भएर आएकाले आफूले पटकथा लेखनमा उत्तिधेरै मिहेनत गर्नु नपरेको बताए । चलचित्रको कथा अत्यन्त बलियो रहेको उनको भनाई छ । निर्देशक रामबाबु गुरुङले चलचित्रलाई राम्रो बनाउन आफूले इमान्दार प्रयास गर्ने विश्वास दिलाए ।

चलचित्रमा विपिनले दयाहाङको ५८ वर्षिय पिताको भूमिका निर्वाह गर्ने चर्चा छ । यसबारेमा स्पष्ट पार्दै विपिनले भने, ‘चलचित्रमा म दया दाईकै पिता बनेर देखिन लागेको होइन । तर, चलचित्रमा कसैको पिता भने पक्कै बन्दैछु । मैले यो रोललाई चुनौतीको रुपमा पनि लिएको छु । यो रोलमा मैले दर्शकहरुलाई विश्वास दिलाउन सकेँ भने मेरो मिहेनत र उद्देश्य सार्थक भएको महशुस गर्नेछु ।’

दयाहाङले भने निर्माता र निर्देशनले जुन उद्देश्य र सोचका साथ चलचित्र बनाउन लागेको हो, त्यसबाट आफू प्रभावित भएको बताए । आफ्नो भूमिका यसपटक केही फरक रहेको उनको भनाई छ । त्यस्तै, प्रियंकाले ‘पुरानो डुंगा’पछि रामबाबु गुरुङ र दयाहाङ राईसँग चलचित्रमा काम गर्नका लागि आफू उत्साहित रहेको बताइन् । यो टिमप्रति आफ्नो पूर्ण विश्वास रहेको उनको कथन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu