‘प्रकाश’मा मेरो चरित्र ८० वर्षको भए पनि गर्थें : दीया मास्के



अभिनेत्री दीया मास्केले अभिनय गरेको नयाँ चलचित्र ‘प्रकाश’ भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनले आफूभन्दा केही बढी उमेरको विपन्न महिला चरित्रमा अभिनय गरेकी छन् । हरेक प्रकारको चरित्रमा अभिनय गर्न तयार रहेको बताउने उनलाई ‘प्रकाश’मा आफूभन्दा बढी उमेरको महिलाको भूमिकामा अभिनय गरेकोमा कुनै अपसोस छैन । बरु, खुशी छिन् ।

उनी भन्छिन्, ‘मैले ‘प्रकाश’मा निर्वाह गरेको क्यारेक्टर उमेरको हिसाबले चाँडो गरेँ भन्ने लाग्दैन । निर्माता, निर्देशक र लेखकले मप्रति यो क्यारेक्टर गर्न सक्छ भनेर विश्वास गरेकोमा नै खुशी छु । करिअरको सुरुवातमै मैले चुनौतीपूर्ण चरित्र गरेकाले मलाई यो भूमिका गर्न समस्या थिएन । म हरेक प्रकारको चरित्रमा अभिनय गर्न तयार छु । ‘प्रकाश’मा मेरो चरित्र ८० वर्षको भए पनि गर्थें ।’

यो चलचित्रबाट उनी करीब ७ वर्षपछि अभिनयमा फर्किएकी हुन् । यसकारण उनलाई चलचित्रमा काम गर्दा केही गाह्रो-अप्ठ्यारो भने भएको रहेछ । उनी सम्झन्छिन्, ‘पहिला जति नै काम गरे पनि कलाकारलाई नयाँ काम नयाँ नै हुन्छ र गाह्रो पनि हुन्छ । आर्टको जुन प्राक्टिस हुन्छ, त्यो साइकल सिके जस्तो हो । एकपटक साइकल सिकेर १० वर्षपछि फेरि हाँक्दा केही गाह्रो-अप्ठ्यारो हुन्छ ।’

उनी अगाडि भन्छिन्, ‘मेरो चलचित्रबाट केही समय ब्रेक भएकाले ‘प्रकाश’मा काम गर्दा केही गाह्रो हुन्छ भन्ने बुझेको थिएँ । चलचित्रमा म अलि ढिलो प्रवेश भएकाले जुम्लाको रहनसहन, भाषा, बोली, लवज टिप्न केही समय लाग्यो । विशेषगरी भाषा सिक्न गाह्रो भयो । मेरो क्यारेक्टर एउटा सीमाभन्दा बाहिर निस्किएको छैन । र, मेरो बडी ल्याङ्वेज जुम्लाको स्थानीय जस्तो देखिन जरुरी थियो ।’

‘प्रकाश’मा दीयाले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । पोस्टरदेखि ट्रेलरसम्म उनको लुक्सले धेरैको ध्यान खिचेको छ । प्रदीपको लुक्सले पनि दर्शकमा चलचित्रप्रति कौतुहलता बढाएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu