‘कृष्ण लीला’मा अटिजमको भूमिका निभाउन पुष्पले के-के गरे ?



अभिनेता पुष्प खड्काले अभिनय गरेको नयाँ चलचित्र ‘कृष्ण लीला’ आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनले अटिजम रोगबाट पीडित युवकको भूमिका निर्वाह गरेका छन् । लिलासँग कृष्णको प्रेम र अटिजमका कारण समाजले ती युवालाई गर्ने व्यवहारको वरिपरी चलचित्र घुमेको छ । अटिजमको भूमिका निभाउन पुष्पले अनेक दुःख गरेका थिए ।

पुष्प भन्छन्– ‘यो भूमिका निक्कै चुनौतीपूर्ण थियो । चलचित्रको अफर आउनसाथ मेरो दिमागमा केही मानिसहरु घुमे । एकपटक एउटा भाईलाई म्युजिक भिडियो छायांकनका क्रममा भेटेको थिएँ । ती भाई बिस्तारै बोल्थे, अस्वभाविक हाँस्थे, अटिजमको लक्षण उनमा देखिएको थियो ।’ ती भाईलाई भेट्नका लागि पुष्पले उनका बाबुआमालाई फोन गरे । तर, उनीहरुका बाबुआमाले छोरालाई एक मिनेट पनि पुष्पसँग बस्न दिन तयार भएनन् ।

पुष्प भन्छन्–‘मलाई उहाँहरुले छोरालाई एक मिनेट पनि बाहिर निस्कन नदिने बताउनुभयो । यसपछि, मलाई अटिजम मैले सोचेभन्दा पनि संवेदनशिल रहेछ भन्नु महशुश भयो ।’ बाबु आमाले भेट्न नदिएपछि पुष्पले ती भाइलाई आफै फोन गरेका थिए । ‘मैले ती भाइलाई २ घन्टामा घरमै ल्यादिने भनेर बाबु आमालाई विश्वस्त तुल्याएपछि बल्ल भाइसँग गफ गर्ने मौका पाएँ,’ उनले भने ।

पुष्पले ती भाइको हाउभाउलाई नजिकबाट नियाले, केही भिडियोहरु पनि खिचे । पछि ती भिडियोहरु छायांकनका क्रममा काम लागेको उनको भनाई छ । चलचित्रका लागि पुष्पले आशान्त शर्मासँग १५ दिनको अभिनय तालिम समेत लिएका थिए । चलचित्रमा बच्चा जस्तो व्यवहार देखाउनुपर्ने भएकाले पुष्पले ४ बर्षकी आफ्नी भान्जीसँग पनि समय बिताएका थिए । पुष्प भन्छन्–‘बच्चाहरु चन्चले हुन्छन् । हात खुट्टा दिमाग चाडो चल्ने हुन्छ । मैले भान्जीसँग समय बिताउँदा ती गतिविधी पनि नियालेँ ।’

अहिले पुष्पको दिमागमा अटिजमलाई लिएर धेरै कुरा खेल्न थालेका छन् । उनी भन्छन्–‘हाम्रो समाजमा यस्तो समस्या भएका व्यक्तिहरुलाई हेप्ने गरिन्छ, विश्वास गरिँदैन । कतिपयले त मजाक समेत उडाउने गर्छन् । तर, यस्ता पात्रहरुलाई माया गर्नुपर्छ । उनीहरुलाई उनीहरुकै शैलीमा काम गर्न दिनुपर्छ । उनीहरुलाई यो संसारमा सम्मानका साथ बाँच्न दिनुपर्छ ।’

चलचित्र छायांकनका क्रममा कतिपय दृश्यमा त पुष्प भक्कानिएका पनि छन् । उनले अगाडि भने–‘मैले यस अवधिमा अटिजम भएको पात्रलाई ५० प्रतिशत मात्र बुझ्न सकेँ जस्तो लाग्छ । मेरो अभिनय हेरेर दर्शकले अटिजमबारे २० प्रतिशतमात्रै पनि वुझ्नु भयो भने म सफल भएको मान्नेछु ।’ आफूले अटिजम भएका पात्रको भूमिकाका लागि शतप्रतिशत दिने कोशिश गरेको उनको भनाई छ । राम्रो अभिनय गर्नका लागि पात्रबारे गहिरो अध्ययन आवश्यक हुने उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu