भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता



साउन ९ गते मन्त्रिपरिषदको बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बोर्ड अध्यक्षका लागि आवेदन दिएकामध्ये नरेश कुमार पौडेलले बिहीवार अदालतमा केसीविरुद्ध रिट दायर गरेका हुन् । सर्वोच्चको वेबसाइटमा भुवनविरुद्ध रिट दर्ता भएको उल्लेख छ ।

अध्यक्ष पदमा आवेदन दिएका अन्य चलचित्रकर्मीहरुको समर्थनमा निर्देशक समेत रहेका पौडेलले रिट निवेदन दिएको जानकारी प्राप्त छ । बोर्ड अध्यक्षमा नियुक्ति हुन भुवन केसीको योग्यता नपुग्ने भन्दै पौडेलले मन्त्रिपरिषदको निर्णय खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।

तालुकवाला निकाय सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदमा आवेदन दिन जारी गरेको सूचनामा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी चलचित्र उद्योगमा कम्तीमा २० वर्षसम्म कार्य गरेको हुनुपर्ने उल्लेख थियो । केसीले प्रवीणता प्रमाणपत्र उतीर्ण नगरेको भन्दै पौडेलले मुद्धा हालेका हुन् । सर्वोच्च स्रोतका अनुसार, मुद्धाको विषयमा सोमवार प्रारम्भीक सुनुवाई हुनेछ ।

बोर्ड अध्यक्षको कुर्सी खाली रहेपछि सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदमा आवेदन माग गरेको थियो । जसअनुरुप भुवनसहित भुवनसँगै अध्यक्ष पदका लागि अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu