कांग्रेस प्रवेश गरे अनुपविक्रम शाही



अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रवार कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सदस्यता प्रदान गरेका हुन् । उनलाई मन्त्री खाँणले पार्टीको भातृ संगठन नेपाल तरुण दलको पनि सदस्यता प्रदान गरे ।

कांग्रेसको सदस्यता लिएपछि अभिनेता शाहीले लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताएका छन् । कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि गरेको संघर्षबाट आफू प्रभावित भएको उनको भनाई छ ।

देशमा कलाकारलाई सम्मान गर्ने पार्टी कांग्रेस मात्र रहेको र धेरै अग्रज तथा सम्मानित कलाकारहरू कांग्रेससँग आबद्ध भएकाले पनि आफूलाई कांग्रेस मन परेको अनुपको तर्क छ । आफू यूवा भएकाले तरुण दलमार्फत यूवाका पक्षमा काम गर्न चाहेको उनले बताए ।

उनी अब कलाकारिता र राजनीतिकलाई एकसाथ अगाडि बढाउने सोचमा छन् । नायकको रुपमा असफल भए पनि खलपात्रको भूमिकामा रुचाइएका अनुपले ‘वीर विक्रम’, ‘हाउ फन्नी’, ‘ठमेल डटकम’, ‘जाइरा’, ‘जय शम्भु’, ‘पुरानो बुलेट’, ‘पासवर्ड’, ‘लप्पन छप्पन २’, ‘हँसिया’ लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu