भवन भट्टले चलचित्र बनाउने



गैरआवासीय नेपाली संघ (एनआरएन) को पूर्व अध्यक्ष तथा अर्बपति भवन भट्ट चलचित्र निर्माणमा आउने भएका छन् । बिहीवार चलचित्र ‘प्रकाश’को जापान रिलिजको जानकारी दिन टोकियोमा आयोजित पत्रकार भेटघाटमा उनले आफूसँग रहेको एउटा कथामा चलचित्र बनाउने योजना रहेको बताएका हुन् । त्यस चलचित्रलाई भारतमा प्रदर्शन गर्ने उनको सोच छ ।

उनले भनेका छन्, ‘मसँग एउटा स्टोरी छ । मौका मिल्यो भने त्यसमा चलचित्र बनाउने सोचमा छु । अहिले मैले तीनवटा एजेन्डाहरु अगाडि ल्याएको छु । यी कामबाट बचेको समयमा चलचित्रलाई अगाडि बढाउँछु । खासमा म नेपाली चलचित्रलाई भारतमा पुर्‍याउन चाहन्छु । हामी भारतीय चलचित्रबाट प्रभावित छौं । अब हामीले हाम्रो चलचित्रबाट भारतलाई प्रभावित बनाउनु पर्ने बेला आएको छ ।’

बाल्यकालमा आफूलाई चलचित्रको निर्देशक बन्ने रहर रहेको पनि उनले स्मरण गरे । ‘स्कूल पढ्ने समयमा मलाई निर्देशक बन्ने रहर थियो । निर्देशकले जस्तो हातले फ्रेम हेर्थें । यो देखेर मलाई कतिले डाइरेक्टर साप भनेर बोलाउँथे । पछि त्यो सौख पूरा गर्न पाइनँ । मैले हरी पाण्डेलाई राखेर एउटा भिडियो बनाएको थिएँ । तर, त्यो कहाँ गयो कहाँ, अहिलेसम्म रिलिज हुन सकेन,’ उनले भने ।

भवन भट्टको जापानमा ठूलो व्यवसाय छ । उनको जापानमा २९० बढी होटल तथा रेस्टुरेन्ट छन् । उनी आफू जापान आउनुको एउटा ठूलो कारणमध्ये चलचित्रको प्रभावलाई मान्छन् । त्यसबेला नेपाल टेलिभिजनमा प्रशारण हुने जापानी चलचित्र ‘ओशिन्’ हेरेपछि जापानप्रति उनको आकर्षण बढेको रहेछ । भवनले पछिल्लो समय नेपाली चलचित्र स्तरीय बन्न थालेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu