प्रदीपले खुलाए ‘प्रकाश’पछि अरु चलचित्र नगर्नुको कारण



आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रकाश’मा अभिनेता प्रदीप खड्काले पहिलो पटक आफ्नो ‘कम्फर्ट जोन’ भन्दा भिन्न चरित्र निभाएका छन् । चलचित्रमा गाउँले भूमिकामा अभिनय गरेका उनलाई यसमा औसत अभिनय गरेर छुट मिल्ने छैन । चकलेटी अवतारमा रुचाइएका उनलाई दर्शकले यस खालको भूमिकामा स्वीकार गर्छन् वा गर्दैनन् ? यो पनि चासोको विषय हो ।

प्रदीपले ‘प्रेमगीत ३’पछि ‘प्रकाश’मा काम गरेका हुन् । तर, यो चलचित्रपछि उनले अरु चलचित्र साइन गरेका छैनन् । यसबारेमा उनले बिहीवार नेपालगञ्जमा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘मैले ‘प्रेमगीत ३’ भन्दा राम्रो प्रोडक्सन र ‘प्रकाश’ भन्दा राम्रो सोच नपाएका कारण चलचित्रमा काम नगरेको हुँ । चलचित्रको छायांकनयता मैले सुनेका स्क्रिप्टमध्ये सबैभन्दा बलियो ‘प्रकाश’को लाग्छ ।’

उनले ‘प्रकाश’को छायांकनका लागि जुम्ला रोज्नुको कारण पनि खुलाउँदै भने- ‘चलचित्रले नेपालमा विद्रोहपछि आएको व्यवस्था र त्यो व्यवस्थामा भएको कमी-कमजोरीको विषयमा बोल्छ । त्यो व्यवस्थाले देशको जुनसुकै कुनालाई छोएको छ । त्यसैले हामीले चलचित्र जुनसुकै ठाउँमा खिच्न सक्थ्यौं । तर पनि जुम्लामै किन खिच्यौं भन्दा कहीँ न कहीँ कर्णाली अगाडि आउनु पर्छ भनेर हो ।’

त्यस्तै, अभिनेत्री दीया मास्के चलचित्रमा आफूले निभाएको सीता चरित्रलाई बलियो महिलाको रुपमा ब्याख्या गर्छिन् । ‘सीता गाउँको साधारण महिला हो । एकल महिला हो । श्रीमान् र छोराको सपनालाई नै उसले आफ्नो सपना बनाएको छ । दीया मास्के भएर सीतालाई हेर्दा ऊ सशक्त महिला हो । करिअरको यो विन्दूमा यति बलियो चरित्रमा अभिनय गर्न पाउँदा खुशी छु,’ उनले भनिन् ।

चलचित्रमा दीयाले प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । उनले प्रदीपको काम गर्ने शैलीको पनि प्रशंसा गरिन् । उनी भन्छिन्, ‘प्रदीपसँग काम गर्न एकदमै रमाइलो र सजिलो भयो । चलचित्रमा मैले एकदमै राम्रो को-एक्टर पाएँ । उसलाई सबैले चकलेटी मात्र किन भन्छन् थाहा भएन । रुप राम्रो भएर पनि होला । तर, मलाई के लाग्छ भने ऊ राम्रो कलाकार पनि हो ।’

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप र दीयाका अलावा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, रामबाबु रेग्मी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतको पनि अभिनय छ । चलचित्रमा विकास सुबेदीको कथा लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको गीतमा संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu