‘एक्स ९’मा भित्रिए सुदर्शन गौतम



२०७१ सालमा प्रदर्शन भएको चलचित्र ‘हिम्मतवाली’बाट अभिनेताको रुपमा डेब्यू गरेका सुदर्शन गौतमले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै नयाँ चलचित्र ‘एक्स ९’ साइन गरेका छन् । यतिबेला चलचित्रको छायांकन प्रवन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका हुन् । चलचित्रको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनेछन् ।

निर्देशक भट्टले चलचित्रमा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताएका छन् । त्यस्तै, सुदर्शनले राम्रो टिम र बलियो चरित्र पाएकाले आफू ‘एक्स ९’मा काम गर्न राजी भएको जानकारी दिए । उनले भने, ‘म चलचित्रबाट कहिल्यै टाढा थिइनँ । विभिन्न कारणले समय दिन नपाएको मात्र हुँ । फेरि चलचित्रमा काम गर्दा राम्रो टिम र बलियो चरित्र हुनुपर्छ भन्ने मान्यतामा अडिग थिएँ । यी सबै कुरा ‘एक्स ९’मा पाएँ ।’

एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित सुदर्शनले चलचित्र ‘हिम्मतवाली’बाट अभिनयमा राम्रो सम्भावना देखाएका थिए ।

‘एक्स ९’लाई नेटफ्लिक्समा रिलिज गर्न निर्देशक भट्टले प्रयास गरिरहेका छन् । सम्भवतः आगामी महिना नेटफ्लिक्ससँग चलचित्रको टिमबीच कागजी सम्झौता हुनसक्ने जानकारी प्राप्त छ । चलचित्रमा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो चलचित्रबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu