काठमाडौं । नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । दशैंलाई लक्षित गर्दै आगामी असोज १४ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र अब फागुनमा प्रदर्शन हुने भएको हो । निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनले वितरक र हल संचालकहरुसँगको सरसल्लाहमा चलचित्रलाई फागुनमा ल्याउने निर्णय गरिएको जानकारी गराए ।

चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक नारायण रायमाझीले बताए । निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।’
असोज १४ लाई प्रदर्शन मिति तोक्दै दुई साता अघि चलचित्रको ‘के वर मागी’ गीत रिलिज गरिएको थियो । चलचित्रमा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ । गायन क्षेत्रमा ठूलो ख्याती कमाएका प्रकाशले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गरेका हुन् ।