सेप्टेम्बर २३, २०२२ अर्थात् आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक भएको छ । भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् चलचित्रको हिन्दी टिजर सार्वजनिक गरेका हुन् । झन्डै एक मिनेट लम्बाईको टिजर एक्सनले भरिएको छ । अभिनेता प्रदीप खड्कालाई विशेष स्थान दिइएको टिजरमा उनी एक्सन अवतारमा प्रस्तुत छन् ।

राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का) लाई गीत (प्रेमिका) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यलाई भने खासै प्राथमिकता दिइएको छैन । हिन्दीमा प्रदीपको भागको डबिङ संकेत म्हात्रेले गरेका हुन् । उनको बोल्ड आवाजले ‘प्रेमगीत ३’को टिजरलाई थप आकर्षक बनाएको छ । टिजर ‘पावर प्याक्ड’ छ ।
चलचित्रको हिन्दी टिजर सार्वजनिक गर्न निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का बिहीवार मुम्बई उडेका थिए । शनिवार मुम्बईमा एक कार्यक्रमका बीच चलचित्रको टिजर सार्वजनिक गरिएको हो । केही दिनअघि चलचित्रको हिन्दी भर्सनको पोस्टर सार्वजनिक गरिएको थियो । चलचित्रको हिन्दीसँगै नेपाली टिजर पनि एकसाथ सार्वजनिक भएको छ ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीपका अलावा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । चलचित्रका छायाँकार राजेश श्रेष्ठ हुन् ।