अभिनेता पुष्प खड्काले अभिनय गरेको नयाँ चलचित्र ‘कृष्ण लीला’ भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा पुष्पले अटिज्म रोगबाट पीडित युवकको भूमिकामा अभिनय गरेका छन् । यसमा सशक्त अभिनय देखिनुपर्ने चुनौती उनमा छ । ट्रेलर हेर्दा उनको अभिनय राम्रो देखिन्छ । अब चलचित्रमा कस्तो अभिनय छ, त्यसले नै उनलाई आलोचना र प्रशंसाको हकदार बनाउनेछ ।
अटिज्म क्यारेक्टरमा अभिनय गर्न कठोर पूर्वअध्यास गरेका उनी यसप्रकारको चुनौतीपूर्ण चरित्रमा कलाकार चिप्लिने रिक्स बढी हुने बताउँछन् । तर, आफूले पात्रलाई न्याय गर्ने हिसाबमा नै अभिनय गरेको उनको कथन छ । ‘कृष्ण लीला’मा निभाएको चरित्र आफूले उठाएको ठूलो रिक्स मान्छन्, पुष्प । यो चरित्रमा आफूलाई औसत र कमजोर हुन अनुमति नभएको उनको निर्क्यौल छ ।

पुष्प कलाकारले आफ्नो ‘कम्फर्ट जोन’ छाड्न अत्यन्त आवश्यक हुने तर्क राख्छन् । एक भेटमा उनले भने, ‘कलाकारले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर अभिनय गर्नुपर्छ । नत्र त म जुनै चलचित्रमा पनि पुष्प मात्रै देखिन सक्छु । ‘कृष्ण लीला’मा म पृष्प खड्का देखिएको छैन ।’ चलचित्रको पात्रमा बाँचेर अभिनय गर्न सकेको खण्डमा मात्र वास्तविक अभिनय देखिने उनको कथन छ ।
उनी अगाडि भन्छन्, ‘म जुनसुकै चलचित्रमा अभिनय गर्छु भने त्यो कथाको पात्र नयाँ जीवन हो । जब नयाँ जीवनमा बाँचेर अभिनय गरिन्छ भने त्यहीँ अभिनय हो भन्ने लाग्छ । र, पात्रलाई मैले न्याय गरेँ भनेर बुझ्छु । हरेक चलचित्रमा पुष्प खड्काकै अदा, हाउभाउ देखिरहेको छ भने मलाई लाग्दैन कि त्यो राम्रो अभिनय गरेको हो । अभिनय राम्रो गर्न र देखिन चलचित्रको चरित्रमा डुब्नु पर्छ ।’
चलचित्रमा पुष्पले अटिज्म रोगबाट पीडित कृष्ण पात्रको जीवन बाँचेका छन् । उनी फिल्ममा निभाएको चरित्रबारे स्पष्ट पार्दै भन्छन्, ‘कृष्ण भन्नसाथ प्रेमको प्रतिकको रुपमा लिइन्छ । चलचित्रको कृष्ण पात्रले पनि प्रेमको प्रतिनिधित्व गर्छ तर, ऊ अटिज्म पीडित हो । अटिज्मभित्रको एउटा पात्र हो कृष्ण, जसले प्रेम गरेको छ । अब त्यो पात्रमा कति सफल हुन्छु, दर्शक प्रतिक्रियाले थाहा हुनेछ ।’
पछिल्लो समय बिरामी, गाउँघरको चरित्रमा अभिनय गर्दा मात्र अभिनय मान्नेको जमात ठूलो छ । तर, यसबारेमा पुष्पको तर्क फरक छ । उनी भन्छन्, ‘अपाहिज, गाउँघरको क्यारेक्टर गर्दैमा अभिनय देखिने र सहरिया, धनाढ्यको भूमिका गर्दा अभिनय नदेखिने भन्ने कदापी हुँदैन । जुन भूमिका गरे पनि अभिनय नै हो । म आफ्नो जीवनभन्दा फरक पात्रको जीवन बाँच्छु भने त्यो अभिनय नै हो ।’


